काठमाडौं,३१ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भ्रमणका लागि श्रीलंका प्रस्थान गरेका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी श्रीलंकातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार श्रीलंकामा प्रवासी नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्। यद्यपि, कार्यक्रममा सहभागी हुने स्थान, आयोजक तथा विस्तृत कार्यतालिकाबारे भने हालसम्म सार्वजनिक गरिएको छैन।
सचिवालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले प्रवासी नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। उनी तीनदिने भ्रमण पूरा गरी नेपाल फर्किने कार्यतालिका रहेको बताइएको छ।




