वीरगन्ज,३१ असार । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आवश्यक केमिकल अभाव भएपछि प्रयोगशालाका विभिन्न परीक्षण सेवा पाँच दिनदेखि प्रभावित भएका छन्। अस्पतालमा सेवा अवरुद्ध भएपछि बिरामीहरू निजी प्रयोगशालामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका छन्।
अस्पताल प्रशासनका अनुसार केमिकल अभावका कारण सीबीसी, थाइराइड, सीआरपी क्वान्टिटेटिभ, सीके–एमबी, सीपीके र एमाइलेज लगायतका महत्वपूर्ण प्रयोगशाला परीक्षण हाल बन्द छन्। यसले उपचारका लागि अस्पताल आउने बिरामीलाई समयमै परीक्षण गराउन समस्या हुनुका साथै अतिरिक्त आर्थिक भार पनि थपिएको छ।
राजविराज–२ की ७५ वर्षीया सावित्रीदेवी देवले अस्पतालमा थाइराइड परीक्षण सेवा उपलब्ध नभएपछि निजी प्रयोगशालामा गएर परीक्षण गराउनुपरेको बताइन्। सरकारी अस्पतालमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध नहुँदा सर्वसाधारणले अनावश्यक दुःख र खर्च बेहोर्नुपरेको उनको गुनासो छ।
राजगढ गाउँपालिका–४ का नितेश मण्डलले अस्पताल प्रशासनले तत्काल आवश्यक केमिकलको व्यवस्था गरी बन्द भएका सबै प्रयोगशाला सेवा नियमित सञ्चालनमा ल्याउनुपर्ने माग गरे।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र मण्डलले आवश्यक केमिकल अभावका कारण केही परीक्षण सेवा अस्थायी रूपमा प्रभावित भएको स्वीकार गरे। उनले आवश्यक सामग्री खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै केमिकल उपलब्ध गराएर सबै प्रयोगशाला सेवा पुनः सञ्चालन गरिने बताए।




