बीरगन्ज,३१ असार । लामो समयदेखि जारी बजेट विवाद अन्त्य गर्दै मधेश प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले अर्थमन्त्री युवराज भट्टराईले असार १ गते प्रस्तुत गरेको ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सर्वसम्मतिले अनुमोदन गरेको हो।
बजेटमा विभिन्न त्रुटि रहेको भन्दै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले संशोधन गर्न वा सर्वदलीय कार्यदल गठन गर्नुपर्ने माग गर्दै प्रदेश सभा बैठक लगातार अवरुद्ध गर्दै आएका थिए।
विवाद समाधानका लागि प्रदेश सभाले असार २८ गते सात सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरेको थियो।
कार्यदलका सुझावलाई बजेटकै अभिन्न अंगका रूपमा समावेश गरेपछि सत्ता पक्ष र विपक्षीबीच सहमति जुटेको थियो। त्यसपछि प्रदेश सभाले बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। बजेट सर्वसम्मतिले पारित भएसँगै मधेश प्रदेशमा केही दिनदेखि जारी राजनीतिक गतिरोधसमेत अन्त्य भएको छ।




