spot_img

प्रतिनिधिसभा बैठक साउन १४ सम्मका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,३१ असार । प्रतिनिधिसभाको आजको बैठकपछि संघीय संसद्को तल्लो सदन करिब दुई साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अर्को बैठक साउन १४ गते बस्ने गरी सहमति भएको हो।

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूका अनुसार अर्को बैठकको मिति सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक रूपमा घोषणा गर्नेछन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदन पनि सदनमा पेश गरिनेछ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा अन्तर्राष्ट्रिय सन्धिसम्बन्धी छलफल पनि हुने छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का बाध्यकारी श्रम महासन्धि तथा श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि छलफल र अनुमोदनका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

आजको बैठकपछि प्रतिनिधिसभा करिब दुई सातासम्म नबस्ने भएकाले अर्को बैठक साउन दोस्रो साताको अन्त्यतिर हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय