spot_img

एमाले पुनर्गठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेल जुटे

spot_img
spot_img

काठमाडौं,३१ असार । नेकपा (एमाले)को संगठनात्मक पुनर्गठनसम्बन्धी बहुप्रतीक्षित प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु भएको छ। पार्टी महासचिव शंकर पोखरेलले प्रतिवेदन लेखनको काम अघि बढाएका छन्।

गत असार २५ गते बसेको पुनर्गठन कार्यदलको बैठकले प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव महासचिव पोखरेललाई दिएको थियो। सोही निर्णयअनुसार प्रतिवेदन लेखन सुरु गरिएको एमालेले जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार प्रतिवेदन तयार भएपछि त्यसका आधारमा पार्टीका आगामी कार्यक्रम र निर्णय अघि बढाइनेछ।

पार्टी स्रोतका अनुसार देशभरबाट संकलन गरिएका सुझावलाई समेटेर प्रतिवेदन तयार गर्न करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ। संकलित सुझावको प्रारम्भिक मस्यौदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्ययन गरिसकेको र त्यसलाई प्रतिवेदनको अन्तिम स्वरूप दिन महासचिव पोखरेल जुटेको बताइएको छ।

एमालेभित्र यो प्रतिवेदनलाई पार्टीको भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। प्रतिवेदनमा पछिल्ला निर्वाचनमा पार्टीले व्यहोरेको हारको समीक्षा गर्दै आगामी रणनीति र संगठन पुनर्गठनको मोडालिटी प्रस्तुत गरिने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार सुझाव संकलनका क्रममा अधिकांश प्रदेशबाट संगठन पुनर्गठनको पक्षमा मत आएको छ। मधेश प्रदेशमा भने पुनर्गठनको विपक्षमा तुलनात्मक रूपमा बढी सुझाव आएको बताइएको छ।

एमालेले सचिवालयको निर्णयअनुसार सातै प्रदेश, जनसंगठन, सम्पर्क समन्वय समिति, केन्द्रीय विभाग, निकाय, सल्लाहकार परिषद् तथा प्रवाससहित १३ वटा क्षेत्रबाट सुझाव संकलन गरेको छ।

प्रतिवेदन तयार भएपछि सचिवालय बैठक बसेर त्यसलाई अन्तिम रूप दिने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको एमालेले जनाएको छ। यद्यपि, पार्टीभित्रको आन्तरिक शक्ति–सन्तुलन र छलफलका कारण केन्द्रीय कमिटी बैठकको मिति भने अझै तय हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय