बीरगन्ज,३१ असार । बीरगन्जमा भोलि आयोजना हुने श्री गहवामाईको विशाल रथयात्रालाई सुरक्षित, व्यवस्थित र अवरोधरहित बनाउन तयारीलाई तीव्रता दिइएको छ। रथयात्राको मार्गमा कुनै प्रकारको जोखिम नहोस् भन्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले विशेषगरी विद्युत् तार व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
महानगरपालिकाको विद्युत् शाखाका प्राविधिक टोलीले सम्बन्धित निकायसँग समन्वय गर्दै रथयात्रा हुने मुख्य मार्गका विद्युत् संरचनाको निरीक्षण तथा व्यवस्थापन गरिरहेका छन्। सडकमाथि झुकेका वा अव्यवस्थित रहेका तारलाई उचित उचाइमा मिलाउने, आवश्यक मर्मत गर्ने तथा जोखिमयुक्त स्थानमा सुधार गर्ने कार्य जारी रहेको छ।
महानगरका अनुसार रथयात्राको क्रममा ठूलो आकारको रथ सञ्चालन हुने भएकाले मार्गमा रहेका विद्युत् तारबाट कुनै अवरोध वा दुर्घटना हुन नदिन पूर्वतयारीलाई विशेष प्राथमिकता दिइएको हो।
श्री गहवामाईको रथयात्रा वीरगञ्जको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको प्रमुख पर्वमध्ये एक हो। हरेक वर्ष यस अवसरमा हजारौं श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने भएकाले महानगरपालिकाले सुरक्षा, सरसफाइ, यातायात व्यवस्थापन र विद्युत् संरचनाको सुरक्षासहित सम्पूर्ण तयारीलाई तीव्र बनाएको जनाएको छ।
महानगरपालिकाले श्रद्धालुहरूको सुरक्षालाई केन्द्रमा राखेर विद्युत् तार व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै सम्बन्धित सबै निकायबीचको समन्वयले रथयात्रा सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।




