spot_img

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छः प्रधानमन्त्री बालेन

spot_img
spot_img

काठमाडौं,३१ असार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको पर्यटन क्षेत्रलाई नयाँ गति दिन सरकारले द्रुत रूपमा काम अघि बढाएको बताएका छन्। उनले पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित लामो समयदेखिका समस्या समाधानतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्दै होटल व्यवसायीको चिन्ता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकास यात्राको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। उनले कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत सहकार्य विस्तार गर्ने विषयमा अध्ययन गर्न व्यवसायीलाई सुझाव दिए।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि सहभागी थिए। सो अवसरमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम भए पनि हाल करिब १२ लाख पर्यटक मात्रै नेपाल आइरहेको बताए। उनीहरूले पर्यटक आगमन वृद्धि भए रोजगारीका अवसर उल्लेखनीय रूपमा बढ्ने र युवाको वैदेशिक पलायन रोक्न होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।

व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका माग पनि प्रस्तुत गरेका छन्।

उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन्।

त्यसैगरी नेपाल एयरलाइन्सको सेवा सुधार, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टी व्यवस्थामा संशोधन, होटल व्यवसायसँग सम्बन्धित कानुनको पुनरावलोकन तथा डेस्टिनेसन वेडिङका लागि आवश्यक सामग्री भित्र्याउने प्रक्रिया सहज बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

आरोग्य पर्यटनको प्रभावकारी प्रवर्द्धनका लागि प्रचार–प्रसारलाई फोटो र भिडियोमा मात्र सीमित नराखी ‘फुल स्टोरी टेलिङ’ सहितको समग्र प्रचार रणनीति अपनाउन तथा आवश्यक विज्ञहरूको व्यवस्था गर्न पनि हानले सरकारसँग अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय