बीरगन्ज,३१ असार । पर्साको प्रमुख पर्यटकीय गन्तव्य ठोरी गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीयवासीले दैनिक रूपमा सास्ती बेहोर्नुपरेको बताएका छन्। सामान्य हावाहुरी वा वर्षाका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेबित्तिकै मोबाइल नेटवर्क पूर्ण रूपमा बन्द हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार विद्युत् कटौती भएपछि नेपाल टेलिकमका टावरमा पर्याप्त ब्याकअप प्रणाली नहुँदा नेटवर्क सेवा तत्काल अवरुद्ध हुने गरेको छ। यसका कारण सर्वसाधारणले सामान्य सञ्चारदेखि बैंकिङ सेवा, अनलाइन भुक्तानी, शैक्षिक गतिविधि तथा सरकारी सेवा लिनसमेत कठिनाइ भोगिरहेका छन्।
स्थानीय चिरञ्जिवी सापकोटाले टेलिकमका टावरमा भरपर्दो वैकल्पिक विद्युत् व्यवस्था नहुँदा समस्या बारम्बार दोहोरिने गरेको बताए। त्यस्तै, स्थानीय अमृत श्रेष्ठका अनुसार ठोरी, ब्रह्मनगर, विजयबस्ती र सुवर्णपुरमा नेपाल टेलिकमका चार वटा टावर भए पनि ती टावरमा आवश्यक ब्याकअप प्रणाली प्रभावकारी नहुँदा सेवा नियमित हुन सकेको छैन।
उनका अनुसार वर्षायाममा बाढी तथा डुबानजस्ता विपद्का बेला प्रहरीलाई सूचना दिन, एम्बुलेन्स बोलाउन वा अन्य आपतकालीन सेवामा सम्पर्क गर्नसमेत नेटवर्क नचल्दा थप जोखिम सिर्जना हुने गरेको छ।
स्थानीयवासीले नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउन पटक–पटक लिखित तथा मौखिक रूपमा आग्रह गरे पनि हालसम्म समस्या समाधानका लागि प्रभावकारी पहल नभएको बताएका छन्।
स्थानीयहरूले पर्यटकीय तथा रणनीतिक महत्व बोकेको ठोरी क्षेत्रमा भरपर्दो दूरसञ्चार सेवा सुनिश्चित गर्न टेलिकमका टावरमा पर्याप्त ब्याकअप प्रणाली जडान गरी नेटवर्क सेवालाई नियमित र विश्वसनीय बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।




