काठमाडाै,३१ असार । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड (निर्वाह भत्ता) मा देशभर एकरूपता कायम गर्न माग गर्दै बुधबार चिकित्सा शिक्षा आयोगमा शान्तिपूर्ण धर्ना दिएका छन्। सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम गरेका हुन्।
एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान नेपालका संयोजक डिल्ली हरिजनका अनुसार कार्यदलले इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता ल्याउने सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि चिकित्सा शिक्षा आयोगले हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन प्रक्रिया अघि नबढाएकाले आन्दोलन गर्नुपरेको हो।
आन्दोलनरत चिकित्सकहरूले देशभरका मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकलाई समान मापदण्डका आधारमा स्टाइपेन्ड उपलब्ध गराउन तथा कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
यसैबीच, इन्टर्न चिकित्सकहरूको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले पनि ऐक्यबद्धता जनाएको छ। बुधबार जारी विज्ञप्तिमा सङ्घले इन्टर्न चिकित्सकहरू अत्यधिक कार्यभार र तनावबीच निरन्तर स्वास्थ्य सेवा दिइरहेको अवस्थामा उनीहरूलाई प्रदान गरिने स्टाइपेन्डमा असमानता हुनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ।
सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन तयार भइसक्दासमेत त्यसको औपचारिक निर्णय र कार्यान्वयन हुन नसकेकोप्रति दुःख व्यक्त गरिएको छ।
नेपाल चिकित्सक सङ्घले इन्टर्न चिकित्सकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै देशभर स्टाइपेन्डमा एकरूपता कायम गर्न र कार्यदलको प्रतिवेदन शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ।




