काठमाडौं,३१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनलाई ‘नेपाली हिटलर’को संज्ञा दिएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले वर्तमान सरकारको प्रशासनिक शैलीलाई अकार्यकुशल भएको आरोप लगाउँदै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य र संस्थागत व्यवस्थालाई कमजोर बनाउने काम गरिरहेको टिप्पणी गरे।
उनले सरकारले ट्रेड युनियन, विद्यार्थी संगठनलगायत विभिन्न संगठित संस्थामाथि हस्तक्षेप गरेको आरोप लगाए। संगठनहरूलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै ठाकुरले प्रधानमन्त्रीको कार्यशैली एकल निर्णयमा आधारित भएको आरोप लगाए।
ठाकुरले सरकार जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न असफल भएको पनि बताए। उनका अनुसार कर्मचारी व्यवस्थापन, शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रका नीतिका कारण सर्वसाधारणमा निराशा बढेको छ भने व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको छ।
उनले करार तथा अस्थायी कर्मचारी हटाउने निर्णयले कर्मचारी प्रशासनमा असन्तुष्टि बढेको र आन्दोलनको अवस्था सिर्जना भएको दाबी गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रबारे बोल्दै ठाकुरले निजी विद्यालय र नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मी प्रभावित हुन सक्ने चेतावनी दिए। सरकारका नीतिहरूले यी क्षेत्रलाई थप संकटमा पार्न सक्ने उनको भनाइ थियो।




