spot_img

बीरगन्ज भन्सारमा ‘सेटिङ’को आरोप: मासिक रकम लिएर गाडीबिनै इन्ट्री काटिने दाबी

spot_img
spot_img

बीरगन्ज,३१ असार । पर्साको प्रमुख सीमा नाका वीरगञ्ज भन्सार कार्यालयको यात्रु शाखामा भारतीय नम्बर प्लेटका सवारीसाधनको भन्सार तथा निःशुल्क सुविधा पास (इन्ट्री) प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। भन्सार अधिकृत भागिरथ साह रौनियारमाथि केही विचौलियासँगको मिलेमतोमा आर्थिक चलखेल गर्दै सेवाग्राहीलाई अनावश्यक दुःख दिने र नियमविपरीत गाडी नै उपस्थित नभई इन्ट्री जारी गर्ने गरेको आरोप लागेको हो।

स्रोतहरूका अनुसार, अधिकृत रौनियार यात्रु शाखामा सरुवा भएर आएपछि भारतीय सवारीसाधनको भन्सार प्रक्रियालाई सहज बनाउनुको सट्टा केही विचौलियामार्फत ‘महिनावारी सेटिङ’ सञ्चालन गरिएको आरोप छ। सेटिङमा सहभागी नहुने सेवाग्राहीको भन्सार प्रक्रिया जानाजानी ढिलाइ गर्ने, अनावश्यक झन्झट सिर्जना गर्ने तथा लामो समयसम्म लाइनमा राखेर मानसिक र आर्थिक सास्ती दिने गरिएको दाबी गरिएको छ।

यसको प्रत्यक्ष असर नेपाल भ्रमणमा आउने भारतीय पर्यटक र सीमावर्ती क्षेत्रका यात्रुमा परेको बताइन्छ। केही दिनअघि एक भारतीय पर्यटकले करिब दुई घण्टासम्म लाइनमा बसेर पनि आफ्नो सवारीसाधनको भन्सार प्रक्रिया सम्पन्न गर्न नसकेपछि निराश हुँदै भारत फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा उनले भन्सार कार्यालयमा कर्मचारीको उदासीनता र विचौलियाको प्रभावका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए। उनले नेपाल भ्रमणमा आउने अन्य भारतीय पर्यटकलाई समेत यस्तो अवस्थाबारे सचेत गराएका थिए। उक्त घटनाले भन्सार कार्यालयको सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाएको थियो।

भारतीय सवारीसाधनको भन्सार प्रक्रियामा मात्र होइन, निःशुल्क सुविधा पास (इन्ट्री) प्रणालीमा समेत आर्थिक चलखेल हुने गरेको आरोप छ। स्रोतका अनुसार, केही व्यक्तिसँग मासिक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म असुली गरी सवारीसाधन कार्यालयमा उपस्थित नै नगराई इन्ट्री काट्ने गरिएको दाबी गरिएको छ।

सोमबार मात्रै बीआर ०६ W ८९९६, बीआर ०१ HN ८२६७, बीआर ०६ BQ ४९०९, बीआर ०१ BG ००२५, बीआर ०६ DE ६५६०, AS ०२ AJ ८६२३, बीआर ०७ AA २१७८, बीआर ०५ AU ४९०८ तथा बीआर ३२ AQ २०३६ नम्बरका सवारीसाधनको इन्ट्री भएको अभिलेख रहेको स्रोतको दाबी छ। तर ती सवारीसाधन भन्सार कार्यालय परिसरमा उपस्थित नभएको आरोप पनि लगाइएको छ।

स्रोतहरूका अनुसार, यस्ता इन्ट्री केही निश्चित विचौलियामार्फत मात्रै हुने गरेको र त्यसबापत नियमित आर्थिक लेनदेन हुने गरेको दाबी छ। यसले इमान्दार सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै सीमित समूहलाई गैरकानुनी लाभ पुर्‍याइरहेको आरोप लगाइएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदय सिंह विष्टले विषयमा जानकारी प्राप्त भएको र आवश्यक आन्तरिक छानबिन गरिने बताएका छन्। उनले सवारीसाधन उपस्थित नभई नियमविपरीत इन्ट्री गरिएको पुष्टि भएमा संलग्न कर्मचारीमाथि कानुनी तथा विभागीय कारबाही गरिने स्पष्ट पारे।

भन्सार कार्यालयको यात्रु शाखा परिसरमा जडान गरिएको सिसिटिभी फुटेजले घटनाको वास्तविकता पुष्टि गर्न महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ। यद्यपि, आरोपअनुसार निगरानी प्रणालीलाई समेत छल्ने गरी अनियमितता भएको हुन सक्ने आशंकाका कारण छानबिनलाई व्यापक र निष्पक्ष बनाउनुपर्ने माग उठ्न थालेको छ।

देशको प्रमुख प्रवेशद्वारमध्ये एक मानिने वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलनसँगै नेपाल प्रवेश गर्ने विदेशी पर्यटक र यात्रुलाई पहिलो सरकारी सेवा प्रदान गर्ने जिम्मेवारी वहन गर्छ। यस्तो संवेदनशील निकायमै अनियमितता, आर्थिक चलखेल र विचौलियाको प्रभावबारे गम्भीर आरोप सार्वजनिक भएपछि सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रणालीप्रति प्रश्न उठेको छ। अब छानबिनले यी आरोपको सत्यता उजागर गर्ने र दोषीमाथि कानुनबमोजिम कारबाही हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय