वीरगञ्ज, ३२ असार – पर्साको वीरगञ्जमा आयोजित चौथो गहवामाई रथयात्रा वर्षाका कारण आंशिक रूपमा प्रभावित भएको छ। बिहीबार बिहानैदेखि वीरगञ्ज तथा आसपासका क्षेत्रमा परेको अविरल वर्षाका कारण रथयात्रा पूर्वनिर्धारित समयभन्दा केही ढिला सुरु भएको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ।
समितिका अनुसार बिहान ९ बजेपछि वर्षा केही कम भएपछि बाजागाजा, भजन–कीर्तन तथा आकर्षक धार्मिक झाँकीसहित भव्य रूपमा रथयात्रा सुरु गरिएको हो। रथयात्रा हाल वीरगञ्ज घण्टाघरबाट रेल्वे रोड हुँदै नगर परिक्रमा गरिरहेको छ।

वर्षाका बाबजुद रथयात्रामा लाखौं हिन्दू धर्मावलम्बी भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको समितिले जनाएको छ। बिहानैदेखि गहवामाई मन्दिर परिसरमा दर्शन र पूजा–आराधनाका लागि भक्तजनहरूको ठूलो भीड लागेको थियो। जयघोष, भजन–कीर्तन र परम्परागत बाजागाजासहित सुरु भएको रथयात्राले वीरगञ्जका प्रमुख सडकहरूको परिक्रमा गरिरहेको छ।

रथयात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित विवाद तथा अवाञ्छित गतिविधि हुन सक्ने स्थानहरूमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीले जानकारी दिए।
उनका अनुसार रथयात्रा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागितामा पूर्ण रूपमा शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको छ। पूर्वनिर्धारित तालिकाअनुसार रथले दिउँसो १२ बजेसम्म नगर परिक्रमा पूरा गरी पुनः गहवामाई मन्दिर परिसरमा पुग्ने कार्यक्रम रहे पनि वर्षाका कारण समय केही पछाडि सर्न सक्ने उनले बताए।
भीड व्यवस्थापनलाई मध्यनजर गर्दै प्रमुख चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने सवारी आवागमन सहज बनाउन केही स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
रथयात्रा सम्पन्न भएपछि दिनभर गहवामाई मन्दिर परिसरमा भजन–कीर्तन, पूजा–आराधना तथा अन्य धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। साँझ भण्डारा तथा प्रसाद वितरण कार्यक्रमसँगै चौथो गहवामाई रथयात्रा औपचारिक रूपमा सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिले जनाएको छ।





