बीरगन्ज,३२ असार । पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
बिहीबार वर्षासँगै परेको चट्याङका कारण स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएका हुन्।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ।
उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको बताइएको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




