काठमाडौं,३२ असार । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै वित्तीय रूपमा सबल सूचीकृत कम्पनीहरूको शेयरमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि सबै सूचीकृत कम्पनीहरूको शेयर धितोमा अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार वित्तीय अवस्था बलियो र निश्चित मापदण्ड पूरा गरेका कम्पनीहरूको शेयरमा भने थप १० प्रतिशत बिन्दु बढाएर ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिनेछ।
राष्ट्र बैंकले यस्तो सुविधा प्रदान गर्नुअघि बैंक तथा वित्तीय संस्थाले सम्बन्धित सूचीकृत कम्पनीको वित्तीय अवस्था र विश्वसनीयताको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरेको छ। यसका लागि कर्जा प्रवाह गर्ने संस्थाले स्पष्ट ‘प्रडक्ट पेपर’ तयार गरी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ।
उक्त मूल्यांकनमा कम्पनीको चुक्ता पुँजी, धितोपत्र बजारमा सूचीकरण भएको अवधि, नाफा तथा लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय पालना र नियमित साधारण सभा सम्पन्न गरेको अवस्थालगायतका सूचक समावेश गर्नुपर्नेछ।
यी मापदण्डका आधारमा उच्च मूल्यांकन प्राप्त गर्ने कम्पनीहरूको शेयर धितोमा मात्रै ८० प्रतिशतसम्म मार्जिन कर्जा उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ।




