वीरगन्ज,३२ असार । वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। लगातार चौथो वर्ष आयोजना गरिएको रथयात्रामा हजारौं श्रद्धालु सहभागी भएका थिए।
विशेष पूजा–आराधनापछि मन्दिर परिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर र घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर सम्पन्न भएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए।
रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। सादा पोशाकका सुरक्षाकर्मी परिचालन गर्नुका साथै सम्पूर्ण रथयात्रा मार्गमा सुरक्षा निगरानी कडा पारिएको थियो। ट्राफिक व्यवस्थापन सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालु मन्दिर परिसरमा पुगेका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि भक्तजनको उत्साहमा कुनै कमी आएको देखिएन। मुख्य सडक विस्तारका कारण केही स्थानमा सामान्य असहजता भए पनि श्रद्धालुले भक्तिभावका साथ रथयात्रामा सहभागिता जनाएका थिए।
आयोजकका अनुसार रथयात्रापछि दिनभर विशेष धार्मिक कार्यक्रम सञ्चालन हुनेछ। बेलुका मुख्य हवन, महाआरती तथा प्रसाद वितरणको कार्यक्रमसमेत तय गरिएको छ। वीरगन्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।




