काठमाडौं,३२ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने तथा शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सार्वजनिक शिक्षा सुधार सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। उनले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन, शिक्षक तालिम, शैक्षिक सुविधा विस्तार तथा सुरक्षित विद्यालय निर्माणमा मन्त्रालयले विशेष ध्यान दिइरहेको जानकारी दिए।
मन्त्री पोखरेलले डिजिटल तथा स्मार्ट शिक्षण, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य र पोषण तथा सुरक्षित विद्यालय पूर्वाधारका क्षेत्रमा जापानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए। साथै, जापानको अनुशासन, सांस्कृतिक शिक्षा र विद्यालय व्यवस्थापनको अभ्यासबाट नेपालले पनि सिक्न सक्ने धारणा उनले राखे।
जापानी राजदूत मायदा तोरुले सार्वजनिक विद्यालय सुधारका लागि नेपाल सरकारले थालेका प्रयासको प्रशंसा गर्दै जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। उनले शिक्षा सुधारका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सुशासन र सक्षम प्रशासन आवश्यक रहेको उल्लेख गर्दै शिक्षक तालिमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।
राजदूत तोरुले सूचना प्रविधि, डिजिटल पूर्वाधार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन र लगानी प्रवर्द्धनका क्षेत्रमा पनि नेपाल–जापान सहकार्य विस्तार गर्न सकिने उल्लेख गर्दै नीतिगत स्थायित्व र पूर्वाधार विकासले जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्ने विश्वास व्यक्त गरे।




