केही दिन अघि म एउटा गाउँपालिकाको सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मको पठनपाठन अवलोकन गर्न पुगेँ। बालबालिकासँगको अन्तरक्रिया र उनीहरूको सिकाइ स्तर देख्दा मेरो मन निकै भारी भयो। करिब ५० प्रतिशत भन्दा बढी बालबालिकाहरूले सरल पाठ्यसामग्री पढ्न र सामान्य हिसाब गर्न सकिरहेका थिएनन् । यस्तो दयनीय अवस्था देख्दा स्वाभाविक रूपमा प्रश्न उठ्छ । यदि विद्यालयमा सिकाइ नै भइरहेको छैन भने, ती नानीहरू विद्यालय किन आइरहेका छन् ?
म कुनै औपचारिक अनुगमनकर्ता नभएकाले प्रधानाध्यापक र शिक्षकहरूसँग खुलेर संवाद गर्ने प्रयास गरेँ। उनीहरूले सुनाएका गुनासा सुन्दा उनीहरूको विवशता प्रस्ट झल्किन्थ्यो। उनीहरू भन्थे, “शिक्षक अपुग छन्, तर सबै कक्षामा नियमित पढाइ सञ्चालन गर्न माथिबाट दबाब छ । विद्यार्थी–केन्द्रित शिक्षण गर्न भनिन्छ, तर कक्षाकोठामा प्रयोग गर्ने बोर्ड र मार्कर बाहेक एउटा पनि सिकाइ सामग्री छैन । कोठाको अभावमा दुईवटा कोठामा पाँचवटा कक्षा चलाउनुपर्ने, त्यहीँ दिवा खाजा र कार्यालयको काम पनि गर्नुपर्ने बाध्यता छ। हामीले मेहनत गरेर कक्षा १–२ मा बालबालिकालाई केही सिकाउँछौं, तर उनीहरू निजी विद्यालयतिर सर्छन्।“ नयाँ पाठ्यक्रम लागू भए पनि त्यस अनुसारको तालिम र स्पष्टता आफूहरूमा नभएको उनीहरूको गुनासो थियो।
नेपालको शैक्षिक प्रणालीको ठूलो विडम्बना के छ भने, हामी सिकाइ उपलब्धि सुधारका लागि रुखको ‘जरा‘ मा पानी हाल्नुको साटो ‘टुप्पो‘ मा पानी हालिरहेका छौं । कक्षा १० को SEE को नतिजा सार्वजनिक हुने बित्तिकै राष्ट्रिय बहस चल्छ, तर आधारभूत तह (कक्षा १–३) को सिकाइ कमजोर हुँदा कसैको ध्यान जाँदैन। हामी समस्याको मूल कारण खोज्नुको साटो लक्षण व्यवस्थापनमै सीमित छौं।
विगतको विषयगत (Subject-based) प्रणालीलाई विस्थापित गर्दै अहिले एकीकृत पाठ्यक्रम (Integrated Curriculum) लागू गरिएको छ। तर आधारभूत तहको नतिजामा अपेक्षित सुधार नआउनुले के प्रस्ट्याउँछ भने, समस्या केवल पाठ्यक्रमको ढाँचामा मात्र होइन, बरु मूल कारणहरूलाई सम्बोधन गर्न हामी चुकेका छौं।
सिकाइ कमजोर हुनुका गहिरो र संरचनात्मक कारणहरू:
१. शिक्षकको विवशता र तालिमको अभाव: एकीकृत पाठ्यक्रम पढाउन उच्चस्तरीय सीप चाहिन्छ। तर हाम्रा धेरैजसो शिक्षक अझै पनि रटान्ने पद्धतिमै रमाएका छन्। नयाँ विधि सिकाउने तालिम प्रभावकारी छैन।
२. कक्षाकोठाको विहीनता: ब्ल्याकबोर्ड ह्वाइटबोर्डमा परिणत भए पनि बालमैत्री, ठोस (concrete) र स्थानीय सन्दर्भका सिकाइ सामग्रीहरू कक्षाकोठामा छिरेका छैनन्।
३. ‘टुप्पो‘ मात्र हेर्ने बानी: शैक्षिक प्रशासन र अभिभावकहरूको ध्यान केवल SEE र कक्षा १२ को नतिजामा मात्र सीमित छ। आधारभूत तहलाई ‘बच्चा हेर्ने’ वा ‘खेल्ने ठाउँ’ ठान्ने सोच अझै हटिसकेको छैन।
४. भाषिक अवरोध र सामाजिक यथार्थ: धेरै बालबालिकाको मातृभाषा नेपाली होइन। तर कक्षा १ देखि नै अपरिचित भाषामा पढ्नुपर्ने बाध्यताले उनीहरूको आत्मविश्वास गुमिरहेको छ। त्यसमाथि सामुदायिक विद्यालयमा मुख्यतः विपन्न वर्गका बालबालिका मात्र बाँकी छन्, जसमा कुपोषण र घरेलु कामको दबाबले सिकाइमा प्रत्यक्ष असर पारेको छ।
५. शिक्षामा राजनीति र अभिभावकको दूरी: बारम्बारको नीतिगत अस्थिरताले शैक्षिक वातावरण अस्थिर छ। अर्कोतर्फ, प्रारम्भिक कक्षामा बालबालिकाले के सिकिरहेका छन् भन्ने बुझाइ अभिभावकमा नहुँदा घरमा सिकाइको वातावरण बन्न सकिरहेको छैन।
विश्वव्यापी अभ्यासले के सिकाउँछ?
विश्वका सफल शिक्षा प्रणालीहरूलाई हेर्दा दुईवटा धार देखिन्छन्। अमेरिका, सिंगापुर, जापान जस्ता देशहरूले विषयगत (Subject-based) पाठ्यक्रम अपनाएका छन् भने फिनल्यान्ड, क्यानाडा, न्युजिल्यान्ड जस्ता देशहरूले एकीकृत (Integrated) पाठ्यक्रम। रोचक कुरा, दुवै धारका देशहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। यसले के प्रस्ट्याउँछ भने, शिक्षाको सफलता केवल ‘कुन पाठ्यक्रम’ भन्ने कुरामा निर्भर हुँदैन। सफलताको साँचो हो शिक्षकको क्षमता, कक्षाकोठाको बालमैत्री वातावरण, प्रभावकारी मूल्याङ्कन र स्थानीय सन्दर्भअनुसारको कार्यान्वयन। त्यसैले, “एक मात्र सही पाठ्यक्रम” भन्ने भ्रममा नलागी कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ।
अब के गर्ने त?
आधारभूत तहको संकट केवल SEE मा देखिने ‘Not Graded (NG)’ दर मात्र होइन, यो शिक्षा प्रणालीको जरा सम्म पुगेको संरचनात्मक रोग हो। यदि हामीले लक्षण नै सफा गर्दै गए भनें, माथिल्लो तहमा गरिने सुधार अस्थायी हुनेछन्। अब नीतिगत कुरा मात्र होइन, व्यवहारिक कार्यान्वयन चाहिन्छ:
१. आधारभूत साक्षरता र गणित (FLN) मा जोड: कक्षा ३ सम्म पुग्दा हरेक बालबालिकाले पढ्न, बुझ्न र आधारभूत हिसाब गर्न सक्ने सुनिश्चित गर्नु नै पहिलो लक्ष्य हुनुपर्छ।
२. मातृभाषाको सम्मान: कक्षा १–३ मा बालबालिकाले बुझ्ने भाषामै सिकाइ हुनुपर्छ। मातृभाषाबाट सुरु गरेर क्रमशः नेपाली/अंग्रेजीमा लैजाने रणनीति अपनाउनुपर्छ।
३. शिक्षकको साथ र क्षमता अभिवृद्धि: केवल एकदिने तालिम होइन, कक्षाकोठामै गएर सहजीकरण गर्ने (classroom-based coaching) र सहपाठी सिकाइ (peer learning) प्रणालीलाई संस्थागत गर्नुपर्छ।
४. स्थानीय तहको नेतृत्व र जवाफदेहिता: शिक्षा शाखामा सक्षम जनशक्ति राखी विद्यालयलाई आवश्यक सिकाइ सामग्री र बालमैत्री वातावरण बनाउन स्थानीय तहले नेतृत्व लिनुपर्छ। डाटाका आधारमा अनुगमन गर्ने प्रणाली बसाउनुपर्छ। ५. अभिभावकको सहभागिता: घरमा नै सिकाइ वातावरण बनाउन अभिभावकलाई सचेत गराउनुपर्छ।
अन्त्यमा आधारभूत शिक्षा भनेको एउटा रुखको जरा हो । जरा बलियो भए मात्र टुप्पो हराभरा हुन्छ। पाठ्यक्रम जतिसुकै उत्कृष्ट भए पनि यदि शिक्षक सक्षम छैनन्, कक्षाकोठामा सिकाइ सामग्री छैन र कार्यान्वयन प्रभावकारी छैन भने, अपेक्षित नतिजा आउँदैन। अब लक्षण व्यवस्थापनको चक्रव्यूहबाट बाहिर निस्केर शिक्षाको ‘जरा’ सुदृढ गर्ने बेला आएको छ। मूल कारणमा केन्द्रित भएर, स्थानीय सन्दर्भ अनुकूल र परिणाममुखी काम गर्ने हो भने मात्र नेपालको शिक्षामा वास्तविक रूपान्तरण सम्भव छ।
लेखक : मुनिलाल बैठा ( वहाँ समाजिक अभियन्ता हुनु हुन्छ । वहाँ लामाे समयदेखि शिक्षा क्षेत्रकाे विकासमा समेत काम गरी रहनु भएकाे छ । )




