बीरगन्ज,३२ असार । अन्य प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला मधेश प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ। गठबन्धनमा रहेका दलका नेताहरूले प्रदेश सरकार चुनावसम्म कायम रहने बताएका छन्।
हाल मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सहकार्य रहेको छ। केन्द्रमा राजनीतिक समीकरणबारे भइरहेका छलफलका बीच पनि प्रदेश सरकारलाई असर नपर्ने भन्दै तीन दलका शीर्ष नेताहरूले सरकारलाई निरन्तरता दिने विषयमा छलफल गरेका हुन्।
मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री एवं नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच भएको छलफलमा सरकारलाई स्थिर रूपमा अघि बढाउने विषयमा सहमति भएको जनाइएको छ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशस्तरमा गठबन्धन दलहरूबीच कुनै विवाद नरहेको उल्लेख गर्दै केन्द्रको राजनीतिक परिवर्तनले प्रदेश सरकारलाई प्रभावित नगर्ने बताए। उनका अनुसार तीन दलबीच भएको सहमतिअनुसार गठबन्धन चुनावसम्म कायम रहनेछ।
अर्थमन्त्री युवराज भट्टराईले पनि मधेश प्रदेशको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेको भन्दै हालै सर्वसम्मत रूपमा बजेट पारित भएकाले सरकारलाई स्थायित्वका साथ अघि बढाउने समझदारी भएको बताए।
कांग्रेस नेतृत्वमा रहेको मधेश सरकार गत १९ मंसिरमा विभिन्न दलका सांसदहरूको समर्थनमा गठन भएको थियो। अहिले गठबन्धनका नेताहरूले सरकारलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन्।




