spot_img

सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको औपचारिक टोली गठन

spot_img
spot_img

बीरगन्ज,३२ असार । सरकारसँग भइरहेको संवादलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, हेडक्वार्टर सदस्यहरू लक्ष्मी घिमिरे र किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।

मिटरब्याज पीडितहरू असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा छन्। सोही क्रममा सरकार र आन्दोलनरत पक्षबीच बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा हालसम्म चार चरणको वार्ता सम्पन्न भइसकेको छ।

यद्यपि आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा स्वीकार गरी कार्यान्वयनको सुनिश्चितता गर्ने विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

आन्दोलनरत पक्षले गृहमन्त्रीले मौखिक रूपमा स्वीकार गरिसकेको ६ बुँदे सहमति हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको ग्यारेन्टी गर्नुपर्ने अडान दोहोर्‍याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोक्ने र आवश्यक परे काठमाडौंतर्फको यात्रा पुनः अघि बढाउने चेतावनीसमेत आन्दोलनकारीले दिएका छन्।

आन्दोलनले अब सरकारसँग हुने आगामी सबै वार्तामा यही औपचारिक वार्ता टोलीले प्रतिनिधित्व गर्ने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय