वीरगन्ज,३२ असार । बाराको कोल्हबी नगरपालिका–८ मिलनचोकमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक कामदार घाइते भएका छन्। घाइते हुनेमा स्थानीय नयाँबस्ती टोल निवासी ३२ वर्षीय नवसाद आलम रहेका छन्। उनी बुधबार बिहान करिब ८:३० बजे बिश्वेश्वर प्रसाद कोइरालाको घरमा वेल्डिङको काम गरिरहेका बेला दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार फलामको पाइप उठाउने क्रममा उक्त पाइप नजिकै रहेको ११ हजार भोल्ट क्षमताको विद्युत् प्रसारण लाइनमा छोइएपछि आलमलाई करेन्ट लागेको थियो।
घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
अस्पतालबाट घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी मधुवनबाट प्रहरी सहायक निरीक्षक विसम्बर नाथ मिश्रको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




