काठमाडौं,३२ असार । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै विवादमा परेको छ। मंगलबार सार्वजनिक भएको गीतमा प्रयोग गरिएका द्विअर्थी (डबल मिनिङ) शब्द र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
गीतका शब्द तथा संगीत दुर्गेश थापाकै हुन्। गीतले सार्वजनिक भएलगत्तै युट्युब र अन्य सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ। धेरै प्रयोगकर्ताले गीतमा प्रयोग गरिएका शब्द नेपाली समाज र शिक्षकजस्तो सम्मानित पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएका छन्।
गीत सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफमा दुर्गेश थापाले गीतलाई कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा निर्भर रहने बताएका थिए। उनका अनुसार सकारात्मक दृष्टिकोणले सुन्दा गीतलाई फरक रूपमा बुझ्न सकिन्छ।
यता सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले पनि सामाजिक सञ्जालमार्फत गीतको विषयमा टिप्पणी गर्दै यसबारे भइरहेको बहसमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
‘मास्टर्नी’ प्रियंका कार्कीको निर्माणमा बन्न लागेको चलचित्रको प्रचारात्मक गीत हो। यो गीत चलचित्रमा समावेश भने गरिएको छैन। चलचित्रको प्रवर्द्धनका लागि दुर्गेश थापाले विशेष रूपमा तयार पारेको गीत भएको जनाइएको छ।
गीत सार्वजनिक भएसँगै यसको शब्द चयन, सन्देश र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा बहस जारी छ भने समर्थक र आलोचकबीच मत विभाजित देखिएको छ।




