spot_img

भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलबमान

spot_img
spot_img

काठमाडौं,३२ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीको नयाँ तलबमान शुक्रबारदेखि लागू हुने भएको छ। नयाँ व्यवस्थाअनुसार निजामती तथा सार्वजनिक सेवाका कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढ्नेछ।

तलब वृद्धिसँगै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीअन्तर्गत नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था पनि लागू गरिनेछ। यसले कर्मचारीको कुल पारिश्रमिकमा उल्लेखनीय वृद्धि हुने सरकारको अपेक्षा छ।

नयाँ व्यवस्थाअनुसार मुख्यसचिवको आधारभूत तलब ७७ हजार २ सय ११ रुपैयाँबाट बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ। प्रोत्साहन भत्ता र महँगी भत्ता जोड्दा उनको मासिक पारिश्रमिक करिब ९८ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ।

त्यस्तै, सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६ सय ११ रुपैयाँबाट बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ। उनीहरूले यसअघि जस्तै महँगी भत्ता र थप प्रोत्साहन भत्ता पनि पाउनेछन्।

सरकारले निजामती कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा अन्य सार्वजनिक संस्थानका कर्मचारीको तलब पनि सोही अनुपातमा वृद्धि हुने जनाएको छ।

यस्तै, पेन्सनभोगी कर्मचारीले आधारभूत तलबमा भएको वृद्धिको दुई तिहाइ हिस्सा अनुसार पेन्सन वृद्धि पाउने व्यवस्था गरिएको छ। सरकारले २०७९ सालपछि पहिलोपटक आधारभूत तलब वृद्धि गरेको हो। त्यसयता कर्मचारीलाई महँगी भत्ता मात्र उपलब्ध गराइएको थियो। अहिले लागू हुन लागेको नयाँ तलब संरचनाले सरकारी कर्मचारीको मासिक आम्दानीमा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय