काठमाडौं,३२ असार । नुवाकोटको त्रिशूली बजार नजिक रहेको नयाँ पुलबाट त्रिशूली नदीमा हामफालेपछि एक व्यक्ति बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहीबार दिउँसो करिब १:१० बजे विदुर नगरपालिका–१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्रातीले नदीमा हामफालेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा पुगेर बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य सुरु गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।




