सप्तरी,३२ असार । लगातारको वर्षासँगै आएको बाढी र डुबानका कारण सप्तरीमा एक हजार ११४ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेतीमा क्षति पुगेको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका अनुसार असार २७ गतेदेखि परेको अविरल वर्षाले खोलानाला र नहरमा पानीको बहाव बढ्दा तथा तटबन्ध कटान हुँदा करिब ७५४.८३ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित भएको हो।
सबैभन्दा बढी क्षति छिन्नमस्ता गाउँपालिकामा भएको छ। पानी निकासको समस्या उत्पन्न भएपछि वडा नं. २, ३, ४, ५ र ६ का करिब ८०० बिघा धानखेती डुबानमा परेको गाउँपालिकाले जनाएको छ।
यसैगरी सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, बोदेबरसाइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा राजविराज नगरपालिकाका विभिन्न वडामा पनि बाढी, डुबान र तटबन्ध कटानका कारण सयौं बिघा धानखेतीमा क्षति पुगेको छ।
स्थानीय तहहरूले निरन्तर वर्षा जारी रहे थप क्षति हुन सक्ने भन्दै जोखिमयुक्त क्षेत्रको अनुगमनलाई तीव्र बनाएका छन्। प्रभावित किसानहरूले डुबानको निकास, तटबन्ध मर्मत तथा क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मुख्य बालीमै ठूलो क्षति पुगेपछि सप्तरीका किसानहरू आगामी उत्पादनलाई लिएर चिन्तित बनेका छन्।




