बीरगन्ज,३२ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ।
विशेष सरकारी वकिल कार्यालयका अनुसार यसअघि व्यवसायी दीपक भट्टलगायतविरुद्ध दर्ता भएको मुद्दामै थप प्रतिवादी समावेश गर्दै पूरक अभियोगपत्र विशेष अदालतमा पेश गर्न लागिएको हो। अभियोगपत्रमा व्यवसायी सुवी अग्रवालसहित अन्य व्यक्तिहरू पनि प्रतिवादी बनाइने जनाइएको छ।
उपन्यायाधिवक्ता भीमसेन काफ्लेका अनुसार विभागले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि अभियोगपत्र अन्तिम तयारीमा पुगेको छ। अनुसन्धानका आधारमा विष्णु पौडेलमाथि स्रोत नखुलेको सम्पत्ति लुकाउन सहयोग गरेको आरोप लगाउँदै मतियारका रूपमा सजाय माग गरिने तयारी गरिएको छ।
पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ बराबरको रकम, विभिन्न स्थानका १५० रोपनीभन्दा बढी जग्गा तथा करिब ३ लाख ७५ हजार कित्ता सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर मुद्दा दायर गरिने तयारी गरिएको छ।




