काठमाडौं,३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले विद्यमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने एजेन्डा अघि बढाए आफ्नो पार्टीले सहयोग गर्न तयार रहेको बताएका छन्।
प्रधानमन्त्री बालेन शाहसँग भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारले गणतन्त्रसहितको वर्तमान व्यवस्था परिवर्तन गर्ने निर्णय गरे राप्रपाले त्यसमा साथ दिने धारणा राखेको बताए।
उनका अनुसार भेटका क्रममा राप्रपाको राजनीतिक दृष्टिकोणबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। साथै, नेपालका लागि हालको तीन तहको शासकीय संरचना आवश्यक नरहेको र त्यसबारे पुनर्विचार गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखिएको उनले बताए।
लिङ्देनले राप्रपा आफ्नो घोषित नीति र सिद्धान्तअनुसार व्यवस्था परिवर्तनको पक्षमा रहेको दोहोर्याउँदै सोही उद्देश्यमा सरकार अघि बढे सहकार्य गर्न तयार रहेको उल्लेख गरे।




