बीरगन्ज,०१ साउन । गृहमन्त्री सुदन गुरुङको बारा–पर्सा भ्रमणका क्रममा अपनाइएको सक्रिय कार्यशैली अहिले चर्चाको विषय बनेको छ।
पूर्वसूचना बिना सीमा नाका, सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूको अनुगमन गर्दै नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने उनको शैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।
स्थानीयवासीका अनुसार गृहमन्त्रीले दैनिक जीवनसँग जोडिएका साना–ठूला समस्यामा समेत चासो देखाएर समाधानको पहल गरेपछि सरकारप्रति जनविश्वास बढेको महसुस गरिएको छ। त्यसैले उनको सक्रियता सर्वसाधारणबीच प्रशंसाको विषय बनेको छ।
यता, गृहमन्त्रीको निरन्तर अनुगमन, निर्देशन र आकस्मिक निरीक्षणका कारण बारा–पर्साको प्रहरी प्रशासनमा कार्यचाप उल्लेख्य रूपमा बढेको बताइन्छ। प्रहरी स्रोतका अनुसार नियमित जिम्मेवारीसँगै तत्काल निर्देशन कार्यान्वयन गर्नुपर्ने अवस्थाले अतिरिक्त दबाब सिर्जना भएको छ।
केही प्रहरी अधिकारीहरूले अनौपचारिक रूपमा गृहमन्त्रीको कार्यशैलीका कारण कामको बोझ बढेको अनुभव सुनाए पनि यस विषयमा कुनै पनि अधिकारीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्।
गृहमन्त्रीको सक्रिय उपस्थितिले एकातिर नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने अर्कोतर्फ स्थानीय प्रहरी प्रशासनलाई उच्च सतर्कता र थप जिम्मेवारीका साथ काम गर्नुपर्ने अवस्था सिर्जना भएको देखिएको छ।




