spot_img

देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षा हुने सम्भावना

spot_img
spot_img

काठमाडौँ,०१ साउन । देशभर मनसुन सक्रिय भएसँगै शुक्रबार अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली क्षेत्रका केही स्थानमा तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा अन्य हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा तथा मधेश र कर्णालीका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

भारी वर्षाका कारण पहिरो, बाढी, गेग्रान बहाव, नदीमा पानीको सतह बढ्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय