काठमाडौँ,०१ साउन । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सबै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ। अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स छापेर विभागलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको हो। यससँगै वर्षौँदेखि रहेको स्मार्ट लाइसेन्स छपाइको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापनका लागि २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख लाइसेन्स छाप्ने कार्य सुरु गरिएको थियो। दोस्रो चरणको काम पनि असार ३२ गते सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने लक्ष्य पूरा भएको हो।
हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको दैनिक तीन हजारदेखि पाँच हजारसम्मको विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गर्ने व्यवस्था लागू भइसकेको मन्त्रालयले जनाएको छ। यसले लाइसेन्स वितरण प्रक्रिया थप छिटो, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले आगामी दिनमा सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात निकायसँग समन्वय गरी स्मार्ट लाइसेन्स छपाइलाई अझ प्रभावकारी बनाउने तयारीसमेत अघि बढाएको जनाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहल र समन्वयका कारण लामो समयदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाइ कार्य सम्पन्न भएको मन्त्रालयको दाबी छ।




