काठमाडौं,०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा मुछिएका व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक सातासम्म लगातार भएको थुनछेक बहसपछि बिहीबार उक्त आदेश जारी गरेको हो।
अदालतले बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ तथा दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग डेढ करोड रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी तोकिएको छ।
यसबाहेक, हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा पनि अदालतले सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
अदालतको आदेशअनुसार तोकिएको धरौटी बुझाएपछि दुवै जना मुद्दाको अन्तिम टुंगो नलागेसम्म तारेखमा रहनेछन्।




