spot_img

सेयरबजारको गिरावटमा नआत्तिन अर्थमन्त्रीको सचिवालयको आग्रह

spot_img
spot_img

काठमाडौं,०१ साउन । नयाँ सरकार गठनपछि लगातार ओरालो लागेको सेयरबजारलाई लिएर लगानीकर्तामा बढ्दो असन्तुष्टिबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले धैर्य गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ।

शुक्रबार जारी गरिएको सन्देशमा सचिवालयले सेयरबजारलाई देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै पछिल्ला आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएको छ।

पर्याप्त तरलता, घट्दो ब्याजदर तथा लगानी र सरकारी खर्च विस्तार गर्ने नीतिले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

सचिवालयका अनुसार स्थिर सरकार, विज्ञ नेतृत्व र नियामक निकायमा पारदर्शी व्यवस्थापनमार्फत सेयरबजार सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको छ।
साथै, बजारबारे सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट फैलाइने भ्रामक सूचना र नकारात्मक हल्लाबाट प्रभावित नहुन लगानीकर्तालाई आग्रह गरिएको छ। केही व्यक्तिले गलत भाष्य निर्माण गरी अनावश्यक त्रास फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै सरकारले तथ्य, प्रक्रिया र आधिकारिक निर्णयका आधारमा मात्रै काम गरिरहेको स्पष्ट पारेको छ।

सचिवालयले सेयरबजारसम्बन्धी जानकारी क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूहजस्ता अनौपचारिक माध्यमबाट नभई सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतबाट मात्र लिन पनि सबै लगानीकर्तालाई अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय