काठमाडौं,०१ साउन । सरकारले आजदेखि स्वास्थ्य सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता कर’ लागू गरेको छ। आर्थिक ऐन, २०८३ अन्तर्गत लागू भएको यो व्यवस्थासँगै अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले उपचार शुल्कसँगै अतिरिक्त ३ प्रतिशत कर पनि तिर्नुपर्ने भएको हो।
नयाँ व्यवस्था साउन १ गतेदेखि देशभर लागू भएको छ। यसले सरकारी तथा निजी अस्पताल, क्लिनिक र अन्य स्वास्थ्य संस्थामा उपचार गराउने सेवाग्राहीको खर्च बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी दीर्घरोगी, नियमित उपचारमा रहेका बिरामी तथा महँगो उपचार आवश्यक पर्ने सेवाग्राहीहरूमा यसको प्रभाव बढी पर्ने देखिएको छ।
सरकारका अनुसार स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, सेवा सुधार तथा स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक स्रोत जुटाउने उद्देश्यले स्वास्थ्य समता कर लागू गरिएको हो।
तर, उपचारकै क्रममा अतिरिक्त कर तिर्नुपर्ने व्यवस्थाले सर्वसाधारणमाथि आर्थिक भार थपिने भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुन थालेको छ। स्वास्थ्य सेवाको लागत बढ्दा विपन्न तथा मध्यम आय भएका नागरिकको उपचार पहुँचमा समेत असर पर्न सक्ने सरोकारवालाहरूले बताएका छन्।




