काठमाडौं,०१ साउन । सरकारले सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्ने कार्य तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्थापना भएका वा रिक्त दरबन्दीमा अब नयाँ करार कर्मचारी नियुक्त गर्न नपाइने निर्णय गरेको हो। यस निर्णयबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्रमार्फत जानकारी गराएको छ।
परिपत्रअनुसार कुनै कार्यालयमा कर्मचारी अभाव भएमा नयाँ करार नियुक्ति गर्न पाइने छैन। आवश्यक जनशक्ति पूर्ति गर्न मन्त्रालयको ‘पुल’ मा रहेका करार कर्मचारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी करार सम्झौताका आधारमा खटाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, एकीकरण वा खारेजीको प्रक्रियामा रहेका सरकारी निकायहरूमा सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति भने हाल कार्यरत करार कर्मचारीहरूमध्येबाटै छनोट गरी काममा लगाइने सरकारको निर्णयमा उल्लेख छ।
सरकारले यो व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित सबै मन्त्रालय, विभाग तथा सरकारी निकायलाई निर्देशनसमेत दिएको छ।




