काठमाडौं,०१ साउन । सरकारी सेवाबाट अवकाश लिएर पेन्सन वा उपदान सुविधा लिइरहेका कर्मचारीलाई अब सरकारी निकायमा करार सेवामा राख्न नपाइने भएको छ ।
सरकारले सरकारी जागिरबाट निवृत्तिभरण (पेन्सन) पाउने कर्मचारीलाई पुनः करारमा नियुक्ति नगर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिइसकेका वा हाल निवृत्तिभरण पाइरहेका करार कर्मचारीको सेवा २०८३ साउन १ गतेदेखि निरन्तरता नदिने निर्णय भएको छ ।
परिपत्रमा पेन्सन सुविधा पाइरहेका करार कर्मचारीलाई धन्यवादसहित बिदाइ गर्ने उल्लेख छ ।
सरकारले सरकारी निकायमा नयाँ करार नियुक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।
यस्तै, निवृत्तिभरण वा उपदान नपाउने तर हाल करार सेवामा कार्यरत कर्मचारीलाई भने अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै ‘पुल’ दरबन्दीमा राखिने भएको छ ।
त्यस्ता कर्मचारीको विवरण मन्त्रालयले एकीकृत रूपमा अद्यावधिक गर्नेछ । सरकारको यो निर्णयसँगै विभिन्न सरकारी निकायमा करार सेवामा कार्यरत पेन्सनधारी कर्मचारीको सेवा अब अन्त्य हुने भएको छ ।




