spot_img

वातावरणीय मापदण्ड उल्लंघनमा हुलास स्टिललाई ५ लाख जरिवाना

spot_img
spot_img

बीरगन्ज,०१ साउन । जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय मापदण्ड उल्लंघन गरेको ठहर गर्दै सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेड लाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा तथा नगर प्रहरीको संयुक्त टोलीले गत असार ७ गते उद्योगको अनुगमन गर्दा औद्योगिक फोहोर, स्लरी र तेलजन्य पदार्थ जथाभावी फालिएको, फोहोरपानीको उचित व्यवस्थापन नगरिएको तथा स्वीकृत वातावरणीय मापदण्ड पालना नभएको पाइएको थियो।

अनुगमनपछि उद्योगसँग लिखित स्पष्टीकरण मागिएको भए पनि त्यसलाई सन्तोषजनक नठहर गर्दै उपमहानगरपालिकाले असार २५ गतेको प्रशासनिक निर्णयअनुसार ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले उद्योगलाई सूचना प्राप्त भएको सात दिनभित्र जरिवाना रकम बुझाउन तथा प्रदूषण नियन्त्रणका लागि आवश्यक सुधारात्मक उपाय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, उद्योगबाट निस्कने धुलो, धुवाँ, फोहोरपानी र अन्य औद्योगिक अवशेषको वैज्ञानिक व्यवस्थापन गरी त्यससम्बन्धी प्रतिवेदन पनि पेश गर्न भनिएको छ।

निर्देशनको अवज्ञा गरेमा प्रचलित कानुनअनुसार थप कडा कारबाही गरिने चेतावनी उपमहानगरपालिकाले दिएको छ।

बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा रहेका उद्योगबाट हुने वायु, पानी र वातावरणीय प्रदूषणका कारण स्थानीयवासी लामो समयदेखि प्रभावित हुँदै आएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै वातावरणीय नियम उल्लंघन गर्ने उद्योगमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउने नीति अनुरूप यो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय