बीरगन्ज,०१ साउन । न्याय परिषद्ले देशभरका उच्च र जिल्ला अदालतका २०७ जना न्यायाधीशको एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार बारा जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा भएको छ। सरुवा हुने न्यायाधीशहरूमा यज्ञप्रसाद आचार्य कास्की जिल्ला अदालत, सुरेशराज खनाल मोरङ जिल्ला अदालत, नरेन्द्रबहादुर बुढा काठमाडौं जिल्ला अदालत, अञ्जनराज सापकोटा काठमाडौं जिल्ला अदालत तथा दीक्षा प्रधानाङ्ग मकवानपुर जिल्ला अदालतमा पदस्थापन भएका छन्।
त्यसैगरी, बारा जिल्ला अदालतमा नयाँ रूपमा विश्वनाथ भट्टराई (भक्तपुर जिल्ला अदालत), गीता श्रेष्ठ (मकवानपुर जिल्ला अदालत), आनन्दराज पन्त (जुम्ला जिल्ला अदालत), नीतिज राई (कास्की जिल्ला अदालत) र नारदप्रसाद भट्टराई (काठमाडौं जिल्ला अदालत) लाई सरुवा गरी पठाइएको न्याय परिषद्ले जनाएको छ।
न्याय परिषद्का अनुसार सरुवासँगै श्रम अदालत, विशेष अदालत तथा राजस्व न्यायाधिकरणमा अध्यक्ष र कानून सदस्यहरूको समेत जिम्मेवारी तोकिएको छ।
यसपटकको सरुवामा बारा मात्र नभई पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सुनसरीलगायत विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू पनि समेटिएका छन्।




