ललितपुर,०१ साउन । बर्डफ्लु संक्रमणका कारण करिब एक महिनादेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको छ।
काग, गिद्ध, हाँसलगायत केही पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। त्यसयता संक्रमित पक्षीको उपचार, सरसफाइ, जैविक सुरक्षा तथा आवश्यक व्यवस्थापनका काम सम्पन्न गरिएपछि गरिएको वातावरणीय नमुना परीक्षणमा भाइरस नदेखिएपछि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।
चिडियाखाना प्रशासनका अनुसार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार आगन्तुकका लागि चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुला रहनेछ। प्रवेश गरेका आगन्तुकले भने बेलुका ५ बजाभित्र चिडियाखाना परिसरबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरेर मात्रै अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमण देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नजान र दूरी कायम गर्न अनुरोध गरिएको छ।
साथै, खुला स्थानमा आफूसँग ल्याएको खानेकुरा नखान, प्रयोगपछि फोहोर तोकिएको डस्टबिनमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि चिडियाखाना व्यवस्थापनले सबै आगन्तुकलाई आग्रह गरेको छ।




