वीरगन्ज,०१ साउन । मनसुन सक्रिय भएसँगै मधेश प्रदेशमा धान रोपाइँले तीव्र गति लिएको छ। कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार असार मसान्तसम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलको ५७.९३ प्रतिशत अर्थात् दुई लाख २१ हजार ५४६ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका अनुसार मधेश प्रदेशमा धान खेती हुने कुल तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म उक्त क्षेत्रमा रोपाइँ सकिएको हो।
जिल्लागत तथ्याङ्कअनुसार सिरहा धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। त्यहाँ ५४ हजार हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ४३ हजार ३०० हेक्टर (८० प्रतिशत) मा रोपाइँ सम्पन्न भइसकेको छ। यता महोत्तरी भने सबैभन्दा पछाडि रहेको छ, जहाँ ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर (३९.५९ प्रतिशत) क्षेत्रमा मात्रै रोपाइँ भएको छ।
अन्य जिल्लामा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ३५ हजार ५९ हेक्टर (६५ प्रतिशत), बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर (५५ प्रतिशत), रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर (५५ प्रतिशत), सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३४ हजार हेक्टर (५० प्रतिशत) तथा धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर (५० प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेकामा हरेक वर्ष करिब तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार मनसुन सक्रिय भएसँगै पछिल्ला दुई सातामा धान रोपाइँले उल्लेखनीय गति लिएको हो। असारको तेस्रो सातासम्म करिब १५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो भने पछिल्ला दुई सातामै थप ४३ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको उनले बताए।
उनका अनुसार आगामी केही दिन नियमित वर्षा भए मधेश प्रदेशमा धान रोपाइँको प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।




