वीरगन्ज,०१ साउन । वीरगन्जको प्रसिद्ध गहवा माई मन्दिरमा आयोजित चौथो रथयात्राको अवसरमा सञ्चालन गरिएको महाभण्डाराको तयारी अन्तिम चरणमा पुगेको छ। महाभण्डाराका लागि आवश्यक विभिन्न परिकार तथा प्रसाद तीव्र गतिमा तयार पार्ने कार्य भइरहेको आयोजकले जनाएको छ।
रथयात्रालाई भव्य र व्यवस्थित बनाउन स्वयंसेवक तथा आयोजकहरू बिहानदेखि नै प्रसाद तयारीमा जुटेका छन्। महाभण्डाराका लागि ठूलो परिमाणमा पकवान तयार पारिँदैछ, जसलाई आज साँझ रथयात्रापछि उपस्थित भक्तजनलाई प्रसादका रूपमा वितरण गरिनेछ।
आयोजक समितिका अनुसार गहवा माईको दर्शन तथा रथयात्रामा सहभागी हुने हजारौँ श्रद्धालुलाई व्यवस्थित रूपमा प्रसाद वितरण गर्ने तयारी गरिएको छ। साथै, भक्तजनलाई अनुशासित ढंगले प्रसाद ग्रहण गर्न तथा व्यवस्थापनमा सहयोग गर्न पनि अनुरोध गरिएको छ।
प्रत्येक वर्ष आयोजना हुने गहवा माईको रथयात्रा वीरगन्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। यस अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन सहभागी हुने गरेका छन्।




