बीरगन्ज,०१ साउन । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको नयाँ विद्युत् महसुल व्यवस्था बिहीबारदेखि लागू भएको छ। अब मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले ५० युनिटभन्दा माथिको महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ।
नेपाल विद्युत् प्राधिकरणले सरकारको नयाँ कानुनी व्यवस्थाअनुसार आफ्नो केन्द्रीय बिलिङ प्रणाली अद्यावधिक गरी साउन महिनादेखिको बिलमा नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।
सरकारले आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रमा नयाँ कर व्यवस्था ल्याएको थियो। सोही निर्णयअनुसार साउन १ गतेदेखि नयाँ बिलिङ प्रणाली कार्यान्वयनमा आएको हो।
प्राधिकरणका अनुसार मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी ग्राहकले भने कुनै भ्याट तिर्नु पर्दैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् प्रयोग गर्ने ग्राहकको हकमा ५० युनिटभन्दा माथिको विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लाग्नेछ।
नयाँ व्यवस्थाले कम विद्युत् खपत गर्ने तथा न्यून आय भएका घरपरिवारलाई अतिरिक्त आर्थिक भार नपर्ने प्राधिकरणको भनाइ छ। मासिक ५० युनिट वा सोभन्दा कम विद्युत् प्रयोग गर्ने ग्राहकहरू यस कर व्यवस्थाबाट पूर्ण रूपमा छुट पाउनेछन्।
प्राधिकरणको तथ्याङ्कअनुसार देशभर ३० लाखभन्दा बढी घरायसी ग्राहकले मासिक ५० युनिटसम्म मात्रै विद्युत् खपत गर्ने गरेका छन्। त्यसैले अधिकांश उपभोक्ताले साविककै महसुलअनुसार बिल तिर्नेछन्।
तर सहरी क्षेत्रमा बढी विद्युत् प्रयोग गर्ने मध्यम तथा उच्च आय भएका घरायसी उपभोक्ताले भने नयाँ भ्याट व्यवस्थाको प्रत्यक्ष प्रभाव महसुस गर्नेछन्। प्राधिकरणले ग्राहकलाई आफ्नो मासिक विद्युत् खपतअनुसार नयाँ महसुल बुझाउन अनुरोध गरेको छ।




