जनकपुर,०१ साउन । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो कार्यकालमा सञ्चालन भएका विकास आयोजनाहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा निर्माण तथा सञ्चालन गरिएका विभिन्न योजनाको उहाँले बिहीबार अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा सिंहले राम टोलमा निर्माण गरिएको गणेश मन्दिर, सडक ढलान, मण्डल टोलको नाला तथा सडक निर्माण, मुखिया टोलको नाला निर्माण र कमला मन्दिरलगायतका संरचनाको निरीक्षण गर्नुभयो।
निरीक्षणपछि उहाँले स्थानीय पूर्वाधार विकासले नागरिकको दैनिक जीवन सहज बनाउने बताउँदै निर्माण भएका संरचनाको संरक्षण र नियमित मर्मतसम्भारमा स्थानीय समुदाय तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
स्थानीय बासिन्दाले सडक, नाला तथा अन्य पूर्वाधार निर्माण भएपछि वर्षायाममा हुने हिलो र आवतजावतको समस्या कम भएको बताएका छन्। विकास योजनाले गाउँको स्वरूप परिवर्तन गर्नुका साथै स्थानीयको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पारेको उनीहरूको भनाइ छ।
अनुगमन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।




