spot_img

आज देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

spot_img
spot_img

काठमाडाै,०२ साउन । जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य अवस्थाभन्दा केही उत्तरतर्फ र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना रहेको छ।

आज विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागले सम्भावित वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि अधिकांश क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय