काठमाडौं,०२ साउन । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार राजनीतिक, आर्थिक तथा प्रशासनिक रूपमा अपेक्षित नतिजा दिन असफल भएको आरोप लगाएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै पार्टीले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष सार्वजनिक गरेको हो।
पार्टीका प्रवक्ता सुभाषप्रसाद साहद्वारा जारी विज्ञप्तिमा सरकारले बलियो जनमत पाए पनि त्यसअनुसारको प्रभावकारी कार्यसम्पादन गर्न नसकेको उल्लेख गरिएको छ। विज्ञप्तिमा विकास, सुशासन र आर्थिक सुधारका क्षेत्रमा सरकार कमजोर देखिएको दाबी गरिएको छ।
आजपाका अनुसार गत आर्थिक वर्षमा विकास बजेटको करिब ४६ प्रतिशत मात्र खर्च भएको, राजस्व संकलन लक्ष्यको ८४ प्रतिशतमा सीमित रहेको तथा वैदेशिक अनुदान सहायता करिब ५८ प्रतिशत मात्र प्राप्त भएको छ। साथै, सार्वजनिक ऋण तीन खर्ब रुपैयाँभन्दा बढीले बढेकाले वित्तीय व्यवस्थापन कमजोर भएको पार्टीको भनाइ छ।
पार्टीले बजार अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ता महँगीको मारमा परेको, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन थप कष्टकर बनेको र सरकार मूल्य नियन्त्रणमा प्रभावकारी बन्न नसकेको आरोप पनि लगाएको छ।
विज्ञप्तिमा सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाइएको छ। विधिसम्मत शासनभन्दा बलपूर्वक निर्णय गर्ने प्रवृत्तिले सरकारको छवि कमजोर बनेको दाबी गर्दै सुशासन र वित्तीय अनुशासन कायम गर्न सरकार असफल भएको आजपाले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय वित्तीय मापदण्ड कार्यान्वयनमा कमजोरीका कारण नेपालको अन्तर्राष्ट्रिय साख प्रभावित भएको र वित्तीय जोखिम बढेको पार्टीको भनाइ छ।
आर्थिक सुधारका लागि आवश्यक नीतिगत परिवर्तन गर्न नसकेको आरोप लगाउँदै आजपाले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनेको जनाएको छ। उच्चपदस्थ कर्मचारीमाथिको कारबाही, संवैधानिक निकायका पदाधिकारीमाथिको दबाब र निजी क्षेत्रप्रतिको व्यवहारले लगानीको वातावरण प्रभावित भएको पार्टीको दाबी छ।
आजपाले वर्तमान सरकार गठनसँगै लगानी, विकास र वैदेशिक सम्बन्धमा सुधार हुने अपेक्षा गरिए पनि त्यसअनुसारको उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै विकास कूटनीतिमा समेत सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ।




