spot_img

सिराहा सीमा क्षेत्रबाट १५ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

spot_img
spot_img

सिराहा,०२ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाले भारतसँग जोडिएको सीमा क्षेत्रबाट करिब १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

प्रहरीका अनुसार नियमित सीमा गस्तीका क्रममा किराना सामग्री, कपडा, मदिरा, विभिन्न पेय पदार्थ तथा दुई थान मोटरसाइकलसहित कुल १५ लाख ४८ हजार ८७० रुपैयाँ बराबरका भन्सार छलीका सामान शुक्रबार नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरका भारतीय मोटरसाइकलसहितका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाका सूचना अधिकारी सियाराम चौधरीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका अनुसार कपडा तथा किराना सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै थियो भने मदिरा नेपालबाट भारततर्फ लैजान खोजिएको थियो।

यसैबीच, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाले गत असार महिनामा मात्र एक करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यका चोरी–पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ। प्रहरीले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप कडा बनाएको बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय