बीरगन्ज,०२ साउन । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा पर्साको ठोरीस्थित दुई होटलमा छापा मारिएको छ। छापापछि प्रहरीले सात महिलासहित ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्राप्त जानकारीअनुसार गृहमन्त्री गुरुङ असार ३० गते बाराको सिमरामा मिटरब्याज पीडितसँग भेटघाट सकेर काठमाडौं फर्किने क्रममा ठोरी बजार पुगेका थिए। सोही क्रममा ठोरी दोहोरी साँझ र रिसोर्ट तथा ठोरी क्याम्प फायर होटलमा आफैं पुगेपछि स्थानीय प्रहरीलाई समेत खबर गरिएको थियो।
मन्त्रीको सूचनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि दुवै होटलमा संयुक्त रूपमा छापा मारिएको प्रहरीले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये सात जना महिला र चार जना पुरुष छन्। प्रारम्भिक सूचनाका आधारमा ती होटलमा अवैध गतिविधि भइरहेको आशंकापछि छापा मारिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले पक्राउ परेका अधिकांश व्यक्तिमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यस्तै, होटल सञ्चालकमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




