spot_img

चुरियामाई सुरुङको संरक्षण र व्यवस्थापन अब स्थानीय समितिलाई

spot_img
spot_img

हेटौँडा,०२ साउन । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार स्थानीय समुदायको सक्रिय सहभागितामार्फत सुरुङको दीगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले समितिलाई व्यवस्थापनको जिम्मेवारी दिइएको हो।

यससम्बन्धी सम्झौतापत्रमा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गरिसकेका छन्। सम्झौताअनुसार समितिले सुरुङको नियमित संरक्षण, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ।

सुरुङ अवलोकन गर्न आउने पर्यटकबाट उपमहानगरपालिकाले तोकेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ। संकलित रकम सुरुङको संरक्षण, सञ्चालन र व्यवस्थापनमै खर्च गर्नुपर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।

यस्तै, सुरुङको मौलिक तथा ऐतिहासिक स्वरूपमा कुनै परिवर्तन गर्न नपाइने, यसको ऐतिहासिक महत्व सुरक्षित राख्नुपर्ने तथा समितिले वार्षिक प्रगति विवरण र आय–व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने प्रावधान राखिएको छ। उपमहानगरपालिकाले आवश्यक अनुगमन, समन्वय र निर्देशन गर्ने जिम्मेवारी पनि सम्झौतामा समेटिएको छ।

ऐतिहासिक महत्व बोकेको चुरियामाई सुरुङको निर्माण १८७२ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा सुरु भई १८७४ सालमा सम्पन्न भएको थियो। हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको यस सुरुङको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका थिए।

लामो समय प्रयोगविहीन रहेको यो ऐतिहासिक सम्पदाको संरक्षण तथा मर्मतपछि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। अब स्थानीय समितिमार्फत यसको व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय