जनकपुर,०२ साउन । करिब १८ वर्षअघि दाइजोको विषयलाई लिएर एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेका एक अभियुक्तलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार २०६५ साल भदौ ३ गते दाइजोको विवादका क्रममा चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्रिकाको प्रारम्भिक उपचार भारतको बिहारस्थित पटनामा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
घटनापछि फरार रहेका रामनाथ रायलाई प्रहरीले विशेष खोजी अभियानका क्रममा उनकै गाउँबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




