spot_img

मधेसमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न

spot_img
spot_img

जनकपुर,०२ साउन । समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष असार मसान्तसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

मधेस प्रदेश कृषि विकास निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार प्रदेशभर खेतीयोग्य कुल धान क्षेत्रफलमध्ये ५७.९३ प्रतिशतमा रोपाइँ सकिएको छ। जिल्लागत विवरणअनुसार सिरहामा सबैभन्दा धेरै ८० प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने महोत्तरीमा सबैभन्दा कम ३९.५९ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

तथ्याङ्कअनुसार सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३४ हजार हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये ४३ हजार २०० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर तथा महोत्तरीमा ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टरमा धान रोपिएको छ।

यस्तै, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये करिब ३५ हजार ६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

कृषि प्राविधिकहरूका अनुसार असारभित्रै धान रोपाइँ सम्पन्न हुन सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पछिल्ला दिनमा पर्याप्त चिस्यान भएपछि खेत तयारी, बिरुवा उखेल्ने तथा रोपाइँको काम प्रदेशभर तीव्र रूपमा अघि बढिरहेको छ।

यस वर्ष किसानहरूले उन्नत जातका धानका बीउको प्रयोग बढाएका छन्। साथै रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा पनि ध्यान दिइएको जनाइएको छ। तर केही स्थानमा मलको अभाव र पर्याप्त सिँचाइ पूर्वाधार नहुँदा किसानले अझै समस्या भोगिरहेको सप्तरीको बोदेबर्साइन नगरपालिका निवासी किसान अजयकुमार यादवले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय