spot_img

रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारीको सेवा सुरक्षामाथि विवाद, आन्दोलनको चेतावनी

spot_img
spot_img

बीरगन्ज,०२ साउन । बाराको कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारीको सेवा सुरक्षालाई लिएर श्रमिक र उद्योग व्यवस्थापनबीच विवाद चर्किएको छ। व्यवस्थापनले स्थायी कर्मचारीलाई हटाएर करार प्रणाली लागू गर्न खोजेको आरोप लागेपछि श्रमिक संगठनले आन्दोलनको चेतावनी दिएको हो।

करिब दुई दशकदेखि मिल्समा सुरक्षा गार्डका रूपमा कार्यरत हरेन्द्र राउत अहिर र जौआद अन्सारीले आफूहरूलाई कुनै लिखित निर्णयबिना काममा उपस्थित हुन रोक लगाइएको बताएका छन्। उनीहरूका अनुसार व्यवस्थापनले स्थायी सेवाबाट राजीनामा दिन दबाब दिँदै करार सेवामा पुनः नियुक्ति लिन आग्रह गरेको छ, जसलाई उनीहरूले श्रमिक अधिकारविपरीतको कदम भनेका छन्।

प्रभावित कर्मचारीहरूले पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवमाथि कार्यकालमा दुर्व्यवहार, अपशब्द प्रयोग तथा झुटा आरोप लगाएर कानुनी झमेलामा पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार अदालतबाट सफाइ पाएपछि पनि काममा फर्कन नदिई स्थायी सेवाको अधिकार समाप्त गर्ने प्रयास भइरहेको छ।

मिल्स युनियनका नेता सुरेश चौधरीले व्यवस्थापनको पछिल्लो कदमले श्रमिकहरूमा असुरक्षा र अन्योल सिर्जना गरेको बताए। उनले स्थायी कर्मचारीलाई हटाउने निर्णय गरिएको भए त्यससम्बन्धी आधिकारिक कागजात सार्वजनिक गर्न माग गर्दै हालसम्म कुनै लिखित जानकारी नदिइएको बताए।

उनका अनुसार आइतबार श्रमिक प्रतिनिधि र उद्योग व्यवस्थापनबीच वार्ता हुने तय भएको छ। वार्ताबाट सेवा सुरक्षाको सुनिश्चितता नभए र प्रभावित कर्मचारीलाई पुनः काममा फर्काउने निर्णय नगरिए चरणबद्ध आन्दोलन सुरु गरिने युनियनले चेतावनी दिएको छ।

श्रमिक पक्षका अनुसार पूर्व प्रशासन शाखा प्रमुख यादवविरुद्ध पटक–पटक गुनासो परेपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो। तर कर्मचारीको सेवा सुरक्षा र रोजगारीसँग सम्बन्धित विवाद अझै समाधान हुन सकेको छैन।

यता, उद्योग व्यवस्थापनसँग यस विषयमा प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय