मकवानपुर,०२ साउन । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारबाट बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएको जानकारी दिएका हुन्।
उनका अनुसार कांग्रेस–एमाले सत्ता गठबन्धनमा उत्पन्न भएको दरारपछि एमाले सरकारमा निरन्तर बसिरहनु उपयुक्त नहुने निष्कर्षमा पुगेको छ। सोही निर्णयअनुसार मन्त्रीहरूले अनुकूल समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
थपलियाले भने, “वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन इच्छुक देखिएन। त्यसैले एमाले पनि जबरजस्ती सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्षसहित मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरिएको हो।”
हाल बागमती प्रदेश सरकारमा एमालेका ६ जना मन्त्री छन्। उनीहरूमध्ये कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा विभागीय मन्त्रीका रूपमा कार्यरत छन्। यस्तै किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी विनाविभागीय मन्त्री रहेका छन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले साउन १ गतेदेखि प्रदेश सरकारका १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। मन्त्रालय पुनर्संरचनापछि ८ मन्त्रीलाई विभागीय जिम्मेवारी दिइएको छ भने बाँकी ६ जनालाई विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ।




